७ फाल्गुण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोटलाई लिएर चर्किएको तीव्र असन्तुष्टि र आन्तरिक कलहका बीच बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन् ।
आसन्न निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियामा चरम आर्थिक चलखेल भएको र नेतृत्वले स्वेच्छाचारी ढंगले काम गरेको गम्भीर आरोप लगाउँदै उनले साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष आफ्नो राजीनामा बुझाएका हुन् । वि.सं. २०७९ को निर्वाचनमा काभ्रे–२ बाट १० हजारभन्दा बढी मत प्राप्त गरेका हुमागाईँको बहिर्गमनले निर्वाचनको मुखमा रास्वपाको प्रादेशिक संरचनामा ठूलो धक्का पुगेको महसुस गरिएको छ ।
हुमागाईँले सार्वजनिक गरेको सात बुँदे राजीनामा पत्रमा पार्टीको केन्द्रीय संरचना विस्तार, सदस्यता वितरण र आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएको उल्लेख छ । वर्षौंदेखि संगठनमा पसिना बगाएका निष्ठावान कार्यकर्ताहरूलाई किनारा लगाउँदै अन्य दलबाट भर्खरै भित्रिएका व्यक्तिहरूलाई प्राथमिकता दिइएकोमा उनले कडा आपत्ति जनाएका छन् । विशेषगरी, ‘जान्नेलाई छान्ने’ नाराको उपहास गर्दै नेतृत्वको वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’ भएका पात्र र सामाजिक सञ्जालमा चटक देखाउनेहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको उनको दाबी छ । यस्तो अपरिपक्व चयनले भोलिको संसद् अवसरवादी र विकृत संरचनामा परिणत हुने चेतावनी समेत उनले दिएका छन् ।
पछिल्लो समय रास्वपामा उम्मेदवार चयनको विषयलाई लिएर असन्तुष्टि बढ्ने र प्रभावशाली नेताहरूले पार्टी छाड्ने लहर नै चलेको देखिन्छ । हुमागाईँको राजीनामा आउनुअघि मात्रै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै पार्टी परित्याग गरेका थिए । निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेका बेला एकपछि अर्को गर्दै जिम्मेवार नेताहरूले ‘आर्थिक चलखेल र अपारदर्शिता’ को मुद्दा उठाएर पार्टी छाड्नुले रास्वपाको आन्तरिक लोकतन्त्र र साखमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।

















