Logo

७ फाल्गुण, काठमाडौं ।  आसन्न प्रतिनिधि सभा निर्वाचनको उत्कर्षमा पुगेको प्रचारप्रसारका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ठूलो विद्रोह सुरु भएको छ। ‘जान्नेलाई छान्ने’ र ‘सुशासन’ को नारा दिएर उदाएको रास्वपामा उम्मेदवार छनोटका क्रममा चरम आर्थिक चलखेल र स्वेच्छाचारिता बढेको भन्दै प्रभावशाली नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् ।

पछिल्लो पटक बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएपछि रास्वपाको प्रादेशिक संरचनामा ठूलो धक्का पुगेको छ। गत निर्वाचनमा काभ्रे-२ बाट उल्लेख्य मत ल्याएका हुमागाईँको बहिर्गमनले पार्टीभित्रको आन्तरिक कलह र अवसरवादी चरित्रलाई नराम्रोसँग सतहमा ल्याइदिएको छ।

हुमागाईँले सार्वजनिक गरेको राजीनामा पत्रमा नेतृत्वले निष्ठावान कार्यकर्ताको पसिनालाई उपेक्षा गर्दै ‘गणेश प्रवृत्ति’ भएका चाकडीबाज र दुई-चार दिन अगाडि मात्रै पार्टीमा भित्रिएका चटकदारहरूलाई उम्मेदवार बनाएको आरोप लगाएका छन्। टिकट वितरणमा भएको आर्थिक अपारदर्शिताले भोलिको संसद्लाई समेत विकृत बनाउने संकेत गरेको उनको दाबी छ। संगठन विस्तार र सदस्यता व्यवस्थापनमा समेत नेतृत्वले अपारदर्शी बाटो रोजेको भन्दै हुमागाईँले रास्वपा अब ‘पुराना भनिएका दल’ भन्दा पनि खराब दिशामा अघि बढेको निष्कर्ष निकालेका छन्। चुनावी मैदानमा मतदाताको विश्वास जित्नुपर्ने बेला जिम्मेवार पदमा रहेका व्यक्तिले नै ‘आर्थिक चलखेल’ को मुद्दा उठाएपछि पार्टी पंक्तिभित्र ठूलो हलचल पैदा भएको छ।

रास्वपामा देखिएको यो पहिरो बागमतीमा मात्र सीमित छैन। यसअघि नै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र प्रभावशाली नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले नेतृत्वको कार्यशैली र टिकट वितरणमा भएको मनोमानीप्रति घृणा प्रकट गर्दै पार्टी त्यागिसकेका छन् ।

बागमतीदेखि मधेशसम्मका संस्थापक र संगठन निर्माताहरूले एकपछि अर्को गर्दै साथ छाड्नुले रास्वपाको आन्तरिक लोकतन्त्र र नैतिक आधारमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। निर्वाचनको मुखमा भएको यो सांगठनिक क्षति र नेतृत्वमाथि लागेको ‘आर्थिक चलखेल’ को गम्भीर दागले आगामी चुनावी परिणाममा रास्वपालाई निकै महँगो पर्ने देखिएको छ।


सम्बन्धित समाचार