Logo

६ फाल्गुण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई दोबाटो को संज्ञा दिँदै देशलाई पुनः वैदेशिक वा आन्तरिक प्रयोगको थलो बनाउन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

राजधानीमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको समय विवेक र आवेगबीचको परीक्षा भएको टिप्पणी गरे । एकातिर समाजमा आक्रोश र आवेगको खेती भइरहेको र अर्कोतिर जिम्मेवारी र विवेकको राजनीति रहेको उल्लेख गर्दै उनले भत्काउने र बनाउने दुई विपरीत सोचबीचको द्वन्द्वले देशलाई जोखिमपूर्ण मोडमा पुर्‍याएको दाबी गरे ।

अध्यक्ष ओलीले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा सिंगो समाज प्रश्नैप्रश्नको घेरामा रहेको बताउँदै वर्तमान समयमा देखिएका नयाँ राजनीतिक प्रवृत्तिहरूप्रति कडा कटाक्ष गरे । निर्वाचनका केही साताअघि आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरिरहँदा नागरिकमा रहेको संशय र अन्योललाई चिर्नु नै मुख्य चुनौती रहेको उनको धारणा थियो। देशलाई फेरि पनि प्रयोगशाला बनाउने खेल भइरहेको भन्दै उनले मतदाताहरूलाई राजनीतिक स्थिरता र विकासका लागि गम्भीर हुन अपिल गरे ।

उनको सम्बोधनमा देशको भविष्यका लागि एमालेको स्पष्ट मार्गचित्र रहेको दाबी गरिए पनि वर्तमान राजनीतिक समीकरण र नयाँ शक्तिहरूको उदयका कारण उत्पन्न परिस्थितिलाई उनले ‘विवेक विरुद्ध आवेगको लडाइँ’ का रूपमा चित्रण गरे । समाजमा व्याप्त निराशालाई विध्वंस तिर लैजान खोजिएको भन्दै ओलीले एमालेको घोषणापत्रले नै ती सबै प्रश्नहरूको उत्तर दिने जिकिर गरे । आसन्न निर्वाचनले नै देशलाई कुन बाटोमा लैजाने भन्ने फैसला गर्ने भन्दै उनले निर्वाचनको वातावरण र स्थिरताका लागि सबै पक्षको ध्यान आकृष्ट गराए ।


सम्बन्धित समाचार