७ फागुन,वीरगञ्ज । बारा जिल्ला क्षेत्र नं. ४ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व सांसद किसान श्रेष्ठलाई घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवाहरूले प्रश्न उठाएका छन्।
घरदैलो अभियान अन्तर्गत प्रसौनी गाउँपालिका वडा नं. १ पुगेका श्रेष्ठसँग युवाहरूले विगतको विकास निर्माण, जनप्रतिनिधिको उपस्थिति तथा योजनाको कार्यान्वयनबारे जिज्ञासा राखेका थिए। प्रत्यक्ष सहभागीका अनुसार सो क्रममा उठाइएका प्रश्नहरूको स्पष्ट जवाफ नदिइएको आरोप लगाइएको छ।
स्थानीय युवाहरूले “जय घण्टी” को नारा लगाउँदै असन्तुष्टि व्यक्त गरेका थिए। केही स्थानीय बासिन्दाले विगतका वर्षहरूमा पालिका तथा टोलस्तरमा उल्लेखनीय विकास नभएको दाबी गरे। उनीहरूका अनुसार पछिल्ला तीन वर्षको अवधिमा उम्मेदवार गाउँ–टोलमा नआएको भन्दै विरोध जनाइएको हो।
उक्त घटनापछि क्षेत्रको राजनीतिक माहोल केही तातिएको छ। यद्यपि, उम्मेदवार श्रेष्ठको पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

















