Logo

७ फाल्गुण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ को निर्वाचनका लागि कर्णालीको राजधानी वीरेन्द्रनगरबाट आफ्नो महत्वाकांक्षी चुनावी ुवाचापत्रु सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध कडा प्रहार गरेको छ ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसहितका शीर्ष नेतृत्वले संयुक्त रूपमा सार्वजनिक गरेको उक्त दस्तावेजमा २०४६ सालपछिका सबै उच्चपदस्थ राजनीतिक नेतृत्व र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न एक ‘शक्तिशाली उच्च आयोग’ गठन गर्ने मुख्य सङ्कल्प गरिएको छ । वर्षौँदेखि दलीयकरण र भ्रष्टाचारले थला परेको मुलुकलाई सही दिशामा ल्याउन विगतका ‘शक्तिशाली’ व्यक्तिहरूको फाइल खोल्नु अनिवार्य रहेको रास्वपाको जिकिर छ ।

सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यो वाचापत्र केवल आश्वासन मात्र नभई जनतासँग गरिएको लिखित सम्झौता भएको दाबी गर्दै देश लुट्ने कसैले पनि अब उन्मुक्ति नपाउने चेतावनी दिए । उनले आगामी निर्वाचनलाई ‘पुरानो राजनीतिक सिन्डिकेट’ भत्काउने अन्तिम अवसरको रूपमा चित्रण गर्दै रास्वपाले भ्रष्टाचारको जरो उखेल्ने दाबी गरे । सोही अवसरमा वरिष्ठ नेता बालेन साहले सुशासनका लागि राज्यका संस्थाहरूलाई राजनीतिक भागबण्डाबाट मुक्त गरी स्वतन्त्र विज्ञहरूको हातमा सुम्पनु पर्नेमा जोड दिएका छन् ।

आर्थिक क्रान्तिको खाका प्रस्तुत गर्दै उपसभापति स्वर्णिम वाग्लेले उत्पादन र उद्यमशीलतामा आधारित नयाँ अर्थतन्त्र निर्माण नै पार्टीको अन्तिम लक्ष्य रहेको स्पष्ट पारेका छन् । वाचापत्रमा कर्णालीको विकासका लागि विशेष आर्थिक प्याकेज, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन र वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली युवाहरूको मताधिकार सुनिश्चित गर्ने जस्ता मुद्दाहरूलाई प्राथमिकताका साथ उठाइएको छ ।

रास्वपाले कर्णालीको भूगोललाई साक्षी राखेर गरेको यो घोषणाले परम्परागत राजनीतिक शक्तिहरूलाई ठूलो चुनौती दिएको विश्लेषण गर्न थालिएको छ ।


सम्बन्धित समाचार