७ फागुन,वीरगञ्ज । गौतम स्कूलद्वारा आयोजित “शाइनिङ स्टार्स” कार्यक्रम भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला शिक्षा समन्वय एकाईका प्रमुख मोति प्रसाद भट्टराई रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा वडा अध्यक्ष हिरा गिरी, विद्यालयका डाइरेक्टर सोनम लामा, Parsa Cricket Associationका अध्यक्ष मनिष सिंह, NI Collegeकी काजल सिंह, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, Narayani Hospitalका डा. उदय नारायण सिंह तथा जुनियर स्कुलका प्रिन्सिपल सिपेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका स–साना तथा प्रतिभाशाली विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र सृजनात्मक प्रतिभाले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
उक्त अवसरमा वक्ताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापहरू अत्यन्त आवश्यक रहेको बताए। उनीहरूले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रमका क्रममा घरबाटै अनुशासनको शिक्षा दिनु अभिभावकहरूको दायित्व भएको उल्लेख गर्दै, अनुशासन बिना कुनै पनि विद्यार्थी उत्कृष्ट बन्न नसक्ने सन्देशसमेत दिइएको थियो। विद्यालय प्रशासनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नु, अनुशासनको महत्व बुझाउनु तथा समग्र व्यक्तित्व विकासमा टेवा पुर्याउनु रहेको हो।
कार्यक्रमको सञ्चालन विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले गर्नुभएको थियो। समग्रमा “शाइनिङ स्टार्स” कार्यक्रम उत्साह, ऊर्जा र सृजनात्मकताले भरिपूर्ण रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

















