८ फागुन, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लामा मतदाता शिक्षा कार्यक्रमलाई तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साले मतदान प्रक्रियाबारे जानकारी दिन र बदर मतको सङ्ख्या न्यूनीकरण गर्न जिल्लाभर १ सय २० जना स्वयंसेवक तथा सहजकर्ता परिचालन गरेको हो ।
निर्वाचन कार्यालयले स्थानीय स्वास्थ्य स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्रका परिचालकहरूलाई यस कार्यमा खटाएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामीका रौनियारका अनुसार, गत फागुन ३ गतेदेखि सुरु भएको यो अभियान फागुन १७ गतेसम्म जारी रहनेछ ।
स्वयंसेवकहरूले मतदाताको घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट सही तरिकाले स्वस्तिक छाप लगाउने र मतपत्र पट्याउने विधि सिकाउनेछन् । “हामीले जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा अनुभव हासिल गरेका व्यक्तिहरूलाई प्राथमिकता दिएका छौँ, जसले गर्दा मतदातालाई बुझाउन सहज हुनेछ,” प्रमुख रौनियारले बताईन् ।
वीरगञ्ज महानगरपालिकासहित पर्साका १४ वटा पालिकाका सबै १ सय २० वटा वडाहरूमा प्रत्येक वडामा एक जनाको दरले स्वयंसेवक खटाइएको छ । यस अभियानले निर्वाचनमा मतदाताको सहभागिता बढाउने र प्राविधिक ज्ञानको अभावमा मत बदर हुने समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ ।
पर्सा जिल्लामा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको अन्तिम तथ्याङ्क अनुसार यहाँ कुल ३ लाख ५२ हजार ४ सय ८४ मतदाता छन् । जसअन्तर्गत महिला मतदाता १ लाख ५३ हजार ६ सय ६१ र १ लाख ९८ हजार ८ सय ८ जना पुरुष मतदाता रहेका छन् । अन्यमा भने १५ जना मतदाता रहेको पर्सा निर्वाचन कार्यालयले जनाएको छ ।

















