८ फागुन, काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले छत खोलेर हिँड्न मिल्ने ‘रुफ टप’ सवारी साधन प्रयोग गर्न नपाउने निर्णय गरेको छ । बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस्तो कडाइ गरेको हो।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार, उम्मेदवारहरूको व्यक्तिगत सुरक्षा र निर्वाचनको समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर यो निर्णय लिइएको हो । खुला सवारीमा हिँड्दा उम्मेदवारहरू असुरक्षित हुन सक्ने र भीडभाडमा अप्रिय घटना हुन सक्ने विश्लेषण सुरक्षा निकायले गरेको छ ।
“उम्मेदवारहरूको सुरक्षा नै हाम्रो प्राथमिकता हो । त्यसैले प्रचारप्रसारको क्रममा जोखिम बढाउने खालका सवारी साधन प्रयोग नगर्न निर्देशन दिइएको हो,” सहप्रवक्ता आचार्यले जानकारी दिइन् ।
गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
बैठकमा निर्वाचनका पछिल्ला गतिविधि र सुरक्षा तयारीबारे समेत विस्तृत समीक्षा गरिएको छ । सुरक्षा प्रमुखहरूले आ-आफ्नो निकायको तयारीबारे जानकारी गराएका थिए। निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रहरूको संवेदनशीलताका आधारमा थप सुरक्षाकर्मी परिचालन गर्ने रणनीति समेत बैठकले तय गरेको छ ।
निर्वाचन आउन अब १३ दिन मात्र बाँकी रहँदा सरकारले चुनावी आचारसंहिता र सुरक्षा मापदण्डमा थप कडाइ गर्दै लगेको छ । ‘रुफ टप’ गाडीमा रोक लगाउने निर्णयले उम्मेदवारहरूको प्रचार शैलीमा केही परिवर्तन ल्याउने देखिए पनि यसलाई सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।

















