Logo

८ फाल्गुण, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को नागरिकतामाथि कानुनी प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।
काठमाडौँ–३१ का निवासी युवराज सफलले शुक्रबार गृह मन्त्रालय पुगेर शाहले आफ्नो थर परिवर्तन गर्दा झुटो विवरण पेश गरेको दाबीसहित उनको नागरिकता रद्द गर्न माग गर्दै उजुरी दिनुभएको हो । निर्वाचनको मुखमा एक प्रभावशाली राजनीतिक पात्रमाथि लागेको यो गम्भीर आरोपले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ ।

उजुरीमा उल्लेख गरिए अनुसार बालेनले २०६३ पुस ६ गते महोत्तरी जिल्लाबाट पहिलोपटक नागरिकता लिँदा आफ्नो थर ‘साह’ उल्लेख गर्नुभएको थियो । तर, काठमाडौँको मेयर पदमा निर्वाचित भइसकेपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिने क्रममा उहाँले प्रचलित कानुनविपरीत आफूखुसी थर परिवर्तन गरी ‘शाह’ कायम गरेको दाबी गरिएको छ ।

उजुरीकर्ता सफलले नागरिकता जस्तो संवेदनशील प्रमाणपत्रमा झुटो विवरण पेश गरी थर सच्याउनु प्रचलित ऐनको उल्लंघन भएको जिकिर गर्दै तत्काल छानबिन गरी उक्त नागरिकता खारेज गर्नुपर्ने माग राख्नुभएको छ।

यसअघि पनि विभिन्न व्यक्तिका नागरिकता र राहदानी विवादलाई कानुनी कठघरामा पुऱ्याउँदै आउनुभएका सफलको यो पछिल्लो उजुरीलाई रास्वपा समर्थकहरूले भने चुनावी माहोल बिगार्ने नियतका रूपमा लिएका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीका शीर्ष नेतामाथि परेको यो उजुरीले बालेनको चुनावी अभियान र पार्टीको साखमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चर्चाको केन्द्रमा रहेको छ । गृह मन्त्रालयले यस उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गर्ने वा नगर्ने भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।


सम्बन्धित समाचार
भर्खरै