८ फाल्गुण, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनालाई लिएर दुई दलबीच तनाव उत्पन्न भएको छ ।
एमाले निकट युवा संगठन, राष्ट्रिय युवा संघ नेपालले यस कार्यको घोर भर्त्सना गर्दै रास्वपालाई तत्काल सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। निर्वाचनको मुखमा प्रतिस्पर्धी दलको झण्डा जलाउनु अलोकतान्त्रिक र अराजक कृत्य भएको ठहर गर्दै युवा संघले यसले राजनीतिक मुठभेड निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
युवा संघका अध्यक्ष महाराज गुरुङले एक विज्ञप्ति जारी गर्दै आफूहरू स्वस्थ राजनीतिक आलोचना र प्रतिस्पर्धा स्वीकार गर्न तयार रहे पनि अवरोध, अराजकता र उच्छृंखलता कदापि सह्य नहुने स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा रास्वपा नेतृत्वलाई आफ्ना कार्यकर्ताहरूलाई तत्काल अनुशासनमा राख्न र यस्ता घृणित गतिविधिहरू रोक्न कडा आग्रह गरिएको छ । निर्वाचनको समयमा उच्छृंखल गतिविधिले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गर्ने युवा संघको ठम्याइ छ ।
विज्ञप्तिमार्फत युवा संघले रास्वपालाई आफ्नो गल्ती सच्याउन र माफी माग्न अनुरोध गर्दै यदि बेवास्ता गरिए वा यस्ता गतिविधि पुनः दोहोरिए देशव्यापी रूपमा सशक्त प्रतिवादमा उत्रिने चेतावनी समेत दिएको छ । निर्वाचनको सरगर्मी बढिरहेका बेला प्रमुख दलका भ्रातृ संगठनहरूबीच देखिएको यो टकरावले चुनावी सुरक्षा र शान्तिपूर्ण प्रतिस्पर्धामा चुनौती थपिएको छ । हालसम्म रास्वपाले यस घटना र युवा संघको चेतावनीका सम्बन्धमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

















