८ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। उम्मेदवारहरू यतिबेला मतदाता भेटघाट, घरदैलो तथा रणनीतिक समीकरण मिलाउन व्यस्त छन्।
यसैबीच पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सुखचैनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ठूलो समूह प्रवेश गरेको छ। आज आयोजित एक कार्यक्रममार्फत विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरू रास्वपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति एवं क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्त ले सुखचैनाबाट भएको पार्टी प्रवेशले क्षेत्र नम्बर १ मा रास्वपा अझ सशक्त र संगठित भएको दाबी गरे। उनले जनताको व्यापक समर्थनका कारण आगामी निर्वाचनमा जित सुनिश्चित भएको उल्लेख गरे।
उनका अनुसार वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको एजेन्डासहित रास्वपा जनताको बीचमा गएको र त्यसकै परिणामस्वरूप पार्टीप्रति आकर्षण बढ्दै गएको हो।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा दलहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको छ भने विभिन्न पार्टीहरूले आफ्नो संगठन विस्तार र जनसमर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्।

















