८ फाल्गुण, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद्को नयाँ भवनको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शुक्रबार सहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामसहितको टोली लिएर निर्माणस्थलको प्रत्यक्ष निरीक्षण गर्नुभएका अध्यक्ष दाहालले संसद् चल्ने दिन नजिकिँदै गर्दा पनि भौतिक प्रगति सुस्त हुनु चिन्ताको विषय रहेको बताउनुभयो । निर्वाचनपछिको प्रतिनिधिसभा बैठक नयाँ भवनमै सञ्चालन गर्ने लक्ष्य राखिएकाले बाँकी रहेका कामहरूलाई युद्धस्तरमा अगाडि बढाउन र छिटो हस्तान्तरण प्रक्रियामा जान उहाँले सम्बद्ध निकायलाई कडा निर्देशन दिनुभएको छ ।
निरीक्षणका क्रममा अध्यक्ष दाहालले सबै संरचना पूर्ण रूपमा तयार हुन नसके पनि कम्तीमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सकिने गरी मुख्य हल र आवश्यक पूर्वाधार तयार गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिहरूलाई नयाँ भवनमै स्वागत गर्ने सरकारको तयारीलाई मूर्त रूप दिन निर्माण कम्पनीले आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । बारम्बार निर्देशन दिँदा पनि कामले गति लिन नसकेको प्रति इंगित गर्दै उहाँले अबको केही साता निर्माण पक्षका लागि ‘अग्निपरीक्षा’ हुने बताउनुभयो ।
यसैबीच, सहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामले आगामी चैत १ गतेभित्रै संसद् भवन हस्तान्तरण गर्न निर्माण कम्पनीलाई समयसीमा (डेडलाइन) तोकिएको जानकारी दिनुभएको छ । मन्त्री इङ्नामका अनुसार अहिलेको प्रगति हेर्दा चैतको पहिलो सातासम्म प्रतिनिधिसभाका लागि आवश्यक पर्ने आधारभूत संरचनाहरू तयार हुने अवस्था देखिएको छ ।
२०७६ असोजमा सुरु भएको यस आयोजनाको म्याद पाँचौँ पटक थप गरी २०८२ पुस १६ सम्म पुऱ्याइएको थियो, तर सो अवधिमा पनि काम नसकिएपछि अहिले सरकार र निर्माण कम्पनीमाथि ठूलो नैतिक र कानुनी दबाब परेको छ। निर्माण कम्पनीले चैतको पहिलो सातासम्म जसरी पनि काम सम्पन्न गरेर बुझाउने नयाँ प्रतिबद्धता जनाएपछि सरकारी पक्ष केही आशावादी देखिएको छ ।

















