Logo

८ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र–१ अन्तर्गत वीरगन्ज महानगरपालिका–१६ नगवा टोलमा जनमत पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ ले सशक्त घरदैलो अभियान सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा सरार्फ नगवा टोलका गल्ली–गल्ली र बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवादमा सहभागी भए। उनले क्षेत्रका विभिन्न समस्या बुझ्दै समाधानको खाका प्रस्तुत गर्ने प्रयास गरेका हुन्।

स्थानीयले वर्षायाममा हुने डुबान, अव्यवस्थित ढल तथा नाला निकास, भित्री सडकको दुरवस्था, सडक बत्तीको अभाव, खानेपानीको अनियमितता, फोहोर व्यवस्थापनको कमजोरी, स्वास्थ्य–शिक्षा सेवा तथा बेरोजगारीलगायतका विषयमा गुनासा राखेका थिए।

डुबान समस्या दीर्घकालीन रूपमा समाधान गर्न व्यवस्थित नाला तथा ढल निर्माण अपरिहार्य रहेको स्थानीयको भनाइप्रति सरार्फले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी दीगो पूर्वाधार योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “विकास कागजमा होइन, नागरिकको दैनिकीमा देखिनु पर्छ,” उनले भने।

त्यसैगरी भित्री सडक स्तरोन्नति, सडक बत्ती विस्तार तथा सुरक्षित यातायात व्यवस्थापनमा आफू गम्भीर रहेको उनले स्पष्ट पारे। सीमावर्ती व्यापारिक क्षेत्र भएकाले ट्राफिक जाम र बजार व्यवस्थापन सुधारका लागि विशेष योजना ल्याउने उनको भनाइ थियो।

युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न सीपमूलक तालिम, साना तथा मझौला उद्यम प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माण गर्ने योजना पनि उनले अघि सारे। खानेपानी र सरसफाइलाई आधारभूत अधिकारसँग जोड्दै आपूर्ति प्रणाली सुधार र प्रभावकारी अनुगमन आवश्यक रहेकोमा उनले जोड दिए।

स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण र सामुदायिक विद्यालयको स्तर उकास्न पहल गर्ने प्रतिबद्धता उनले जनाए।

घरदैलो अभियानका क्रममा स्थानीयले सरार्फको प्रत्यक्ष संवाद शैलीको प्रशंसा गरेका थिए। विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै उनले पर्सा–१ लाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य दोहोर्‍याए। नगवा टोलमा सम्पन्न उक्त अभियानले चुनावी माहोल थप तातेको स्थानीयले बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै