८ फाल्गुण, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियानका क्रममा दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले स्वर्गीय राजा वीरेन्द्रको शालिकमाथि चढेर प्रदर्शन गरेपछि राजनीतिक माहोल तातिएको छ ।
रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका कार्यकर्ताहरूले तुलसीपुरस्थित वीरेन्द्र चोकमा रहेको शालिकमाथि चढेर अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कडा आपत्ति जनाएको हो । यस घटनाले निर्वाचनको मुखमा दुई दलबीच वैचारिक र सांकेतिक टकराव निम्त्याएको छ ।
राप्रपा लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताको उक्त कार्यलाई ‘अराजकतापूर्ण र अपमानजनक’ संज्ञा दिनुभएको छ । विज्ञप्तिमा कसैको आस्थाको केन्द्र र ऐतिहासिक धरोहरमाथि यस्तो दुर्व्यवहार हुनु सैह्य नहुने उल्लेख गर्दै रास्वपाले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको छ । राप्रपाले यस्ता उच्छृंखल गतिविधिले स्वस्थ चुनावी प्रतिस्पर्धाको वातावरणलाई बिथोल्ने भन्दै घटनाको घोर भर्त्सना गरेको छ ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले समेत सामाजिक सञ्जालमार्फत यो मुद्दालाई गम्भीरताका साथ उठाउँदै अन्य दलको आस्था र मर्यादामा ठेस पुऱ्याउने कार्य नगर्न सचेत गराउनुभएको छ । निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने शान्तिपूर्ण वातावरण बनाउनु सबै दलको साझा दायित्व भएको स्मरण गराउँदै राप्रपाले भविष्यमा यस्ता घटना नदोहोऱ्याउन रास्वपा नेतृत्वलाई चेतावनी दिएको छ ।
दाङमा एमालेको झण्डा जलाइएको घटनाको केही समयमै वीरेन्द्रको शालिक विवाद बाहिर आउनुले चुनावी सरगर्मीसँगै दलहरूबीचको तिक्तता झनै बढ्दै गएको संकेत गरेको छ ।

















