Logo

८ फाल्गुण, काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारको आकार विस्तार भए पनि व्यापार घाटाको ग्राफ भने चिन्ताजनक रूपमा उकालो लागेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि पुस मसान्तसम्ममा नेपालको कुल व्यापार घाटा १० दशमलव ९१ प्रतिशतले वृद्धि भई ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ मात्र रहेको थियो । आयात र निर्यात दुवैमा वृद्धि देखिए पनि आयातको आयतन निकै ठूलो हुँदा वैदेशिक व्यापार सन्तुलनमा नेपाल थप दबाबमा परेको देखिन्छ ।

तथ्याङ्क अनुसार यस वर्षको पहिलो सात महिनामा नेपालले कुल ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत वर्षको तुलनामा १३ दशमलव ६५ प्रतिशतले बढी हो । अर्कोतर्फ, निर्यातमा ३२.१९ प्रतिशतको उत्साहजनक वृद्धि देखिए पनि यसको कुल हिस्सा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँमा मात्र सीमित रहेको छ । निर्यातको आधार सानो भएकाले प्रतिशतमा देखिएको उच्च वृद्धिले व्यापार घाटा न्यूनीकरणमा खासै ठूलो योगदान पुर्‍याउन सकेको छैन । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको ११ दशमलव ४० प्रतिशतबाट केही सुध्रिएर १३।०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा अझै पनि ८६ दशमलव ९८ प्रतिशतको उच्च बिन्दुमा रहेको छ।

समग्रमा, वैदेशिक व्यापारको कूल आकार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेर अघिल्लो वर्षको तुलनामा १५ दशमलव ७६ प्रतिशतले विस्तार भएको छ । यद्यपि, आयात–निर्यातको अनुपात १४ दशमलव ०३ प्रतिशतले ऋणात्मक देखिनुले नेपालको परनिर्भरता अझै बलियो रहेको सङ्केत गर्दछ । निर्यातको तुलनामा आयातको वृद्धि दर स्थिर रहे पनि यसको मौद्रिक मूल्य उच्च हुँदा मुलुकको शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा पर्ने प्रभावबारे अर्थविद्हरूले चासो व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै