८ फागुन, दाङ । दाङ क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ। तुलसीपुरमा रहेको कार्यालयमा शुक्रबार साँझ करिब ६ बजेतिर तोडफोड भएको जनाइएको छ।
रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालयमा क्षति पुगेको पुष्टि गरेका छन्।
“पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,” उनले सञ्चारकर्मीसँग भने, “कसले र किन गरेको हो भन्नेबारे बुझ्ने प्रयास गरिरहेका छौं।”
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा केही युवाहरूले एमाले र युवा संघको नारा लगाउँदै कार्यालयमा तोडफोड गरेको देखिन्छ।
यसअघि बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा पनि विवाद भएको थियो। उक्त कार्यक्रममा भीडका बीच केही अपरिचित व्यक्तिहरूले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
झन्डा जलाउने घटनापछि दुई पक्षबीच तनाव बढेको पृष्ठभूमिमा शुक्रबार कार्यालय तोडफोडको घटना भएको अनुमान गरिएको छ। यद्यपि घटनाबारे आधिकारिक रूपमा कसैले जिम्मेवारी लिएको छैन।
स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दाङमा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूबीचको तनाव बढ्दै गएको देखिएको छ।

















