९ फागुन, वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती टोलीमाथि भएको आक्रमण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गएराति मध्यरातमा वीरगञ्ज महानगरपालिका–१०, घडिअर्वामा छापामारी गरी स्थानीय लखनलाल गुप्तालाई नियन्त्रणमा लिएको हो।
गत माघ २६ गते आदर्शनगरस्थित एक ट्रान्सपोर्टमा भन्सार राजस्व गस्ती टोलीले छापामारी गर्ने क्रममा तनाव सिर्जना भएको थियो। सो क्रममा सशस्त्र प्रहरीको टोली र उनीहरूले प्रयोग गरेको गाडीमाथि भौतिक आक्रमण गरी क्षति पुर्याइएको प्रहरीले जनाएको छ। घटनामा ट्रान्सपोर्ट सञ्चालक मदन प्रसाद गुप्ता (रुन्चे) सहित ८ जनाको प्रत्यक्ष संलग्नता देखिएको दाबी प्रहरीको छ।
उक्त घटनामा यसअघि नै प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो। लखनलाल गुप्तासहित पक्राउ पर्नेको संख्या पाँच पुगेको छ भने अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका लखनलाल गुप्ता पर्सा निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानूका निकट समर्थक रहेको बताइएको छ। स्थानीय स्रोतका अनुसार यसअघि पक्राउ परेका चार जनामध्ये दुई जना पनि रास्वपाका कार्यकर्ता हुन्। निर्वाचन नजिकिँदै जाँदा पार्टीका सक्रिय समर्थकहरू पक्राउ परेपछि रास्वपाले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ।
लखनलाल गुप्तालाई मध्यरातमा घरबाटै उठाइएको भन्दै घडिअर्वाका स्थानीय बासिन्दा तथा रास्वपाका कार्यकर्ताहरू आक्रोशित बनेका छन्। पक्राउको विरोधमा गएराति नै जिल्ला प्रहरी कार्यालय पर्साको मुख्य गेट बाहिर नाराबाजी र प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरूले विनाकारण निर्दोष व्यक्तिलाई पक्राउ गरिएको, सत्ताको दबाबमा रास्वपालाई कमजोर पार्ने प्रयास भएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।
यता रास्वपाका उम्मेदवार सुशील साह कानूले आफ्ना समर्थकलाई विनाकारण दुःख दिई मानसिक दबाब सिर्जना गरेर निर्वाचन प्रभावित पार्न खोजिएको आरोप लगाएका छन्। प्रहरी प्रशासनले भने सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने र यसमा कुनै राजनीतिक आग्रह–पूर्वाग्रह नरहेको स्पष्ट पारेको छ।
स्तानीयले प्रहरी कार्यालय अगाडी घर्ना दिएपछि प्रहरीले नियन्त्रणमा लिएका लखनलाल गुप्तालाई मध्यरात नै छोडिदिएको छ । जनदवाव पछि प्रहरीले छोडेको हो । अनुसन्धानको क्रममा प्रहरीले आफूलाई नियन्त्रणमा लिएर केही समय पछि सोधपुछ गरेपछि छोडेको हो ।

















