Logo

९ फागुन, रौतहट । रौतहटको गौर नगरपालिका–६, सवगढामा विवाहको बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच भएको विवाद र झडपपछि अन्ततः ६ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय गौरमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले गाउँमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने निर्णय गरेको हो ।

बिहीबार राति सवगढाका सत्यनारायण साहकी छोरीको विवाहका लागि बौधिमाई नगरपालिका–९ सरमुजवाबाट आएको जन्तीले स्थानीय मस्जिद अगाडि बाजा बजाएपछि विवाद सुरु भएको थियो। सो विवादले उग्र रूप लिँदा दुवै पक्षबीच ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

तनावपूर्ण स्थितिलाई मत्थर पार्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेशसागर भुसालको अध्यक्षतामा हिन्दू र मुस्लिम दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित बैठक डाकिएको थियो । बैठकले सामाजिक सद्भावलाई खलल पुग्न नदिन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

सहमतिमा उल्लेखित मुख्य बुँदाहरू:

  • दुवै समुदायबीच आपसी सद्भाव र भाइचारा कायम राख्ने ।
  • धार्मिक सहिष्णुतामा आँच आउने खालका गतिविधि नगर्ने ।
  • आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित हुने वातावरण बनाउने ।
  • घाइतेहरूको उपचार र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्ने ।

प्रजिअ भुसालले भने, “दुवै पक्षबीच सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको छ। हामीले सबैलाई संयमता अपनाउन आग्रह गरेका छौँ र गाउँमा अहिले स्थिति सामान्य बन्दै गएको छ।”

झडपमा नेपाल प्रहरीका सुरक्षाकर्मीसहित एक दर्जन मानिस घाइते भएका थिए। तीमध्ये गम्भीर चोट लागेका ६ जनाको अहिले प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सबै घाइतेहरूको अवस्था अहिले सामान्य रहेको र उनीहरू खतरामुक्त छन् ।

स्थानीय प्रशासनले सवगढा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


सम्बन्धित समाचार