९ फागुन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीतिलाई थप मजबुत बनाउन सुरु गरेको छ। निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले जिल्लाका सबै १६७ वटै मतदानस्थलमा सिसी क्यामेरा जडान गरिने भएको हो।
प्रहरीका अनुसार निर्वाचनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र मतदान प्रक्रियाको पारदर्शी अनुगमनका लागि यो प्रविधि अपनाउन लागिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरीबहादुर बस्नेतले मतदानस्थलमा सिसी क्यामेरा जडान गरी २४ सै घण्टा निरन्तर निगरानी गरिने जानकारी दिए।
प्रहरी प्रशासनले निर्वाचनको तयारीलाई तीव्रता दिँदै आगामी फागुन १७ गतेभित्रै जिल्लाका सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोडिसक्ने लक्ष्य राखेको छ। प्रविधिको प्रयोगले सुरक्षाकर्मीलाई घटनास्थलको वास्तविक अवस्था बुझ्न र कुनै पनि विवाद वा समस्या उत्पन्न भएमा तत्काल एक्सन लिन सहज हुने विश्वास लिइएको छ।
“सिसी क्यामेरा जडानपछि मतदान प्रक्रिया थप सुरक्षित, पारदर्शी र मर्यादित हुनेछ,” डिएसपी बस्नेतले भने, “यसले मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण सृजना गर्नुका साथै निर्वाचनको विश्वसनीयता समेत बढाउनेछ।”
निर्वाचन सुरक्षाका लागि पर्सा प्रहरीले जनशक्ति परिचालन र नियमित अनुगमनलाई समेत प्राथमिकतामा राखेको छ। सुरक्षा निकायहरूबीचको समन्वयलाई प्रभावकारी बनाउनुका साथै संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको कार्यालयले जनाएको छ।
शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि प्रहरीले सबै सरोकारवाला निकाय, राजनीतिक दल र आम नागरिकलाई सहयोग गर्न अपील समेत गरेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सामा सुरक्षा गस्ती र चेकजाँचमा समेत कडाइ गरिएको छ।

















