Logo

९ फागुन, सर्लाही । सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन्।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति पार्टी प्रवेश गराएका हुन्। सिंहको निवासमै आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहसहित जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनले उक्त निर्वाचनमा ४ हजार ३ सय २७ मत प्राप्त गरेका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपाको विभाजनपछि लोसपाबाट मेयरका प्रत्याशी बनेका सिंह नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले पराजित भएका थिए।

यसअघि सर्लाही–४ का लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत दर्जनौं नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिसकेका छन्। पछिल्लो समय सर्लाहीमा विभिन्न दलका नेताहरू कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको देखिएको छ, जसले जिल्लाको राजनीतिक समीकरणमा नयाँ हलचल सिर्जना गरेको छ।


सम्बन्धित समाचार