Logo

९ फागुन,रौतहट । रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिँदा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू लागू गरिएको छ। झडप मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको विषयमा सुरु भएको थियो।

घटनापछि शुक्रबार बिहानदेखि गौर क्षेत्र तनावग्रस्त बनेको थियो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार, कर्फ्यू पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म लागू गरिएको छ।

स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ। गौरका वडा नम्बर ४, ५ र ६ मा झडप भइरहेको छ।

कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न वा आवतजावत गर्न निषेध गरिएको छ। प्रहरीले जनाएको छ कि प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छन्, घरमा तोडफोड भएका छन् र केही व्यक्ति सामान्य घाइते भएका छन्।

प्रशासनले अवस्था बिग्रन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।


सम्बन्धित समाचार