९ फागुन, गौर । रौतहटको गौरमा जारी तनावका बीच कर्फ्यू र नेपाली सेना परिचालनका बाबजुत पनि आगजनी र झडप रोकिएको छैन। भर्खरै गौर नगरपालिका–४, मचकुटिया टोलमा स्कुटरमा आगजनी भएको छ।
हालसम्म प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरिसकेका छन्। मुख्य सडकमा सेना परिचालनपछि शान्ति देखिए पनि भित्री क्षेत्र अझै तनावग्रस्त रहेको छ।
गौर नगरपालिका–६, सनगढा गाउँमा दुई समुदायबीचको झडपले हिंसात्मक रूप लिएको थियो। मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको विषयले विवाद सुरु भएको थियो। यस विवादले गौरका वडा नम्बर ४, ५ र ६ मा झडप फैलाएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेल प्रयोग गरेको थियो। झडपका क्रममा केही सवारी साधनमा आगजनी, घरमा तोडफोड भएको र केही व्यक्ति सामान्य घाइते भएका छन्।
थप हिंसा फैलन नदिन जिल्ला प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय क्षेत्रमा कर्फ्यू लागू गरिएको छ।
स्थिति अहिले पनि तनावग्रस्त रहेको र प्रशासन तथा सुरक्षा निकायहरूले सतर्क रहन आग्रह गरेका छन्।

















