९ फागुन, रौतहट । गौरमा भड्किएको साम्प्रदायिक हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–६ सवगढाका शेख जमशेद रहेका छन्।
प्रहरीका अनुसार उनी जनमत पार्टीका जिल्ला संयोजक तथा सोही वडाका पूर्व अध्यक्ष हुन्। सवगढाबाट सुरु भएको दुई समुदायबीचको विवादमा उनको संलग्नता रहेको आशंकामा घरबाटै नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय लगिएको हो। प्रहरी स्रोतका अनुसार घटनामा उनको संलग्नताका केही प्रमाणसमेत फेला परेको दाबी गरिएको छ।
बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गुज्रिएपछि सुरु भएको विवादले हिंसात्मक रूप लिएको थियो। शुक्रबार दिनभर झडप भएपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराएको थियो। तर शनिबार बिहान पुनः सवगढामै झडप भड्किएको हो।
झडपका क्रममा हालसम्म १० जना सामान्य घाइते भएका छन् भने २० जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्। घटनामा ७ वटा मोटरसाइकल र १ जीप आगजनीबाट नष्ट भएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ राउण्ड हवाइ फायर गरेको जनाएको छ। हाल रौतहटका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ र सुरक्षा सतर्कता बढाइएको छ।

















