Logo

१० फागुन, वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच सीमा नाका ७२ घण्टा अघिदेखि पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ ।

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) मा शनिबार सम्पन्न सीमा समन्वय समितिको बैठकले निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि दुई देशबीचको सीमा नाका पूर्ण रूपमा बन्द (सिल) गर्ने निर्णय गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा वारपार हुने आवागमनलाई कडाइ गर्ने उद्देश्यले यो सहमति गरिएको हो ।

बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरूले निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर (अन्तरदेशीय) अपराध, मदिराको अवैध ओसारपसार तथा सेवन, र नक्कली नोटको कारोबार जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न विशेष निगरानी बढाउने प्रतिबद्धता जनाएका छन्।  विशेषगरी सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सूचना आदानप्रदानलाई तीव्र पार्ने र अवाञ्छित गतिविधि नियन्त्रण गर्न संयुक्त गस्ती तथा चेकजाँचमा कडाइ गर्ने विषयमा साझा धारणा तय गरिएको छ ।

यसपटकको बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगञ्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदीको बढ्दो जलप्रदूषणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यसअघिका बैठकहरूमा मौन रहँदै आएको भारतीय पक्षले नेपालबाट भारततर्फ बग्ने पानीलाई ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ बाट प्रशोधन गरेर मात्र पठाउन नेपाली पक्षसँग औपचारिक आग्रह गरेको छ । सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषणले सीमावर्ती भारतीय क्षेत्रको जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारेको भन्दै उनीहरूले यस्तो माग राखेका हुन् । यसका साथै सीमा क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन र दशगजा क्षेत्रको सुरक्षामा पनि भारतीय पक्षले नेपाली अधिकारीहरूसँग सहयोगको अपेक्षा गरेको छ ।

बैठकमा नेपालको तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा नेपाली सेनाबाहेकका सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

त्यस्तै, भारतको तर्फबाट बिहारको पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम) सौरभ जोरवाल र पश्चिम चम्पारणका डीएम दिनेश कुमारको नेतृत्वमा मातहतका सुरक्षा अधिकारीहरू सहभागी थिए। दुवै पक्षले सीमा व्यवस्थापन र निर्वाचन सुरक्षामा उच्चस्तरको समन्वय कायम राख्ने साझा संकल्पका साथ बैठक समापन गरेका छन् ।


सम्बन्धित समाचार