Logo

१० फागुन, रौतहट । रौतहटको सदरमुकाम गौरमा उत्पन्न साम्प्रदायिक तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशलाई आज आइतबार पनि निरन्तरता दिएको छ । शनिबार दिउँसोदेखि लगाइएको कर्फ्युले नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु कायम रहने जानकारी दिएका हुन् । प्रशासनले सर्वसाधारणको सुविधा र अत्यावश्यक कार्यका लागि आज बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टाका लागि मात्र कर्फ्यु केही खुकुलो पारेको थियो । तर, बिहान ८:३० बजेपछि भने पुनः अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा कर्फ्यु लागू गरिएको छ ।

शनिबार बिहान गौर नगरपालिका-६ स्थित सवगडा गाउँमा दुई समुदायबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको थियो । मुस्लिम समुदायले प्रार्थना गरिरहेको समयमा हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिई झडपमा परिणत भएको थियो ।

स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले शनिबार दिउँसो १ बजेदेखि नै निषेधाज्ञा जारी गरेको थियो । अहिले गौर नगरका मुख्य चोक र संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम गर्न सबै सरोकारवाला र आम नागरिकलाई सहयोग गर्न आग्रह गरिएको छ । “कर्फ्यु आदेशको उल्लंघन गरी हिँडडुल गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिनेछ,” सूचनामा उल्लेख छ ।

प्रशासनले दुवै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न पहल भइरहेको जनाएको छ । हालसम्मको स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहे पनि गाउँमा त्रासको वातावरण अझै कायमै छ ।


सम्बन्धित समाचार
भर्खरै