Logo

१० फागुन,वीरगञ्ज । देशव्यापी रूपमा परिवर्तनको बहस चुलिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको देखिएको छ। त्यसको प्रभाव पर्सा क्षेत्र नम्बर १ को चुनावी माहोलमा समेत स्पष्ट देखिन थालेको छ।

विशेषगरी वीरगञ्ज महानगरपालिका–२३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठन विस्तारसँगै जनसमर्थन पनि फराकिलो बन्दै गएको संकेत दिएको छ। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आधा दर्जन स्थानीय पदाधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतो, सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार ततवा लगायतका नेता तथा कार्यकर्ता रास्वपामा आबद्ध भएको जनाइएको छ। प्रवेश कार्यक्रममा बोल्दै उनीहरूले पुरानो राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई समर्थन गर्ने निर्णय गरेको बताएका थिए।

यसैबीच पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले चुनावी अभियानलाई तीव्र बनाएका छन्। शनिबार नगवामा पार्टी कार्यालय उद्घाटनसँगै उनले घरदैलो कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाएका हुन्।

घरदैलो अभियानका क्रममा पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्। रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ लिएर कार्यकर्ताहरू टोल–टोलमा पुगेका थिए। स्थानीय बासिन्दाले फूलमाला र गम्छा लगाएर उम्मेदवारको स्वागत गरेका थिए।

कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। समर्थकहरूले बालेन शाहरवि लामिछानेका तस्वीरसहित घण्टी चिन्ह अंकित सामग्री प्रदर्शन गर्दै समर्थन जनाएका थिए। “जय घण्टी” लगायतका नाराले चुनावी वातावरण उत्साहपूर्ण बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्‍याउँदै परम्परागत दलप्रति निराश मतदाताले वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे। उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक–पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

घरदैलोका क्रममा स्थानीयले बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, सडक अवस्था, स्वास्थ्य सेवा अभाव र आर्थिक–राजनीतिक अस्थिरताबारे प्रश्न उठाएका थिए। जवाफमा पन्तले केन्द्र सरकारसँग समन्वय गर्दै पर्सा–१ लाई विकासको नयाँ चरणमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय बनेका छन्। रास्वपाले भने वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो उपस्थिति अझ सशक्त बनाउँदै लैजाने रणनीति अघि सारेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै