१० फाल्गुण, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः एकपटक नयाँ उचाइ चुम्दै आम उपभोक्तालाई झस्काएको छ ।
साताको पहिलो दिन आइतबार खुलेको बजारमा पहेँलो धातुको चमक यति महँगो सावित भयो कि, दुई दिनको अन्तरालमा नै प्रतितोला ५ हजार ६०० रुपैयाँको फराकिलो वृद्धि देखियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको छ, जसले इतिहासकै महँगो विन्दुलाई पछ्याइरहेको भान हुन्छ । शुक्रबार ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको यो बढोत्तरीले विशेष गरी लगनको समय कुरेर बसेका र गहना बनाउने योजनामा रहेका सर्वसाधारणलाई निकै चिन्तित तुल्याएको छ ।
बजारको यो बढ्दो ग्राफ सुनमा मात्र सीमित रहेन, चाँदीको मूल्यले पनि उस्तै रफ्तार समातेको छ । अघिल्लो कारोबार दिनको तुलनामा चाँदीमा प्रतितोला ३७५ रुपैयाँको वृद्धि भई आज ५ हजार ४२५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र आर्थिक सूचकहरूमा आएको उतारचढावको सिधा असर नेपाली भान्सा र दराजसम्म आइपुगेको व्यवसायीहरूको विश्लेषण छ । दश ग्राम सुनकै मूल्य २ लाख ६६ हजार नाघेपछि बजारमा उत्साह भन्दा बढी अन्योलता छाएको छ, जसका कारण सुन पसलहरूमा नयाँ गहना किन्ने ग्राहकको भन्दा पनि बजार बुझ्नेहरूको भिड बढी देखिन थालेको छ ।
अन्तर्राष्ट्रिय परिस्थिति र डलरको मजबुतीका कारण सुनको भाउ अझै कता पुग्ने हो भन्ने निश्चित छैन । एकातिर लगानीकर्ताहरूका लागि सुन सुरक्षित गन्तव्य बनिरहेको छ भने अर्कोतिर मध्यमवर्गीय परिवारका लागि यो ुआकाशको फलु सरह बन्दै गएको छ । महासंघले जारी गरेको तथ्याङ्क अनुसार बजारको यो प्रवृत्तिले आगामी दिनमा पनि निरन्तरता पाउने संकेत देखिएको छ, जसले गर्दा सुनचाँदीको कारोबारमा संकुचन आउन सक्ने अनुमान गरिएको छ ।

















