Logo

१० फाल्गुण, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका नागरिकको उपचारका लागि भन्दै एउटा विशाल ‘हस्पिटल शिप’ (अस्पताल जहाज) पठाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

आफ्नो प्रिय सामाजिक सञ्जाल ‘ट्रथ सोसल’ मार्फत यसको खुलासा गर्दै ट्रम्पले ग्रिनल्याण्डमा उचित स्वास्थ्य उपचारको अभावमा धेरै मानिस बिरामी परेको दाबी गरेका छन् । लुजियानाका गभर्नर एवं ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत जेफ ल्यान्ड्रीसँगको समन्वयमा अघि बढाइएको भनिएको यो कदमलाई ट्रम्पले ‘मानवीय मिसन’ को संज्ञा दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक सम्बन्धलाई थप जटिल मोडमा पुर्‍याइदिएको छ । विना अनुमति वा समन्वय अर्काको सार्वभौम क्षेत्रमा सैन्य क्षमताको अस्पताल जहाज पठाउने यो घोषणाले उत्तर एटलान्टिक क्षेत्रमा नयाँ तनावको बीजारोपण गरेको विश्लेषण गरिएको छ ।

पछिल्लो समय ग्रिनल्याण्डलाई अमेरिकाको एउटा राज्यका रूपमा गाभ्ने तीव्र इच्छा व्यक्त गर्दै आएका ट्रम्पको यो कदमलाई विज्ञहरूले सफ्ट पावरु रणनीतिको एउटा कडीका रूपमा हेरेका छन् ।  सन् २०२५ को अन्त्यदेखि नै यस टापु राष्ट्रमाथि आँखा लगाइरहेका ट्रम्पले यसअघि नै डेनमार्कलाई ग्रिनल्याण्ड नबेचेमा भारी भन्सार शुल्क लगाउने धम्की दिइसकेका छन्  ।  यद्यपि, डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूले ग्रिनल्याण्ड बिक्रीका लागि होइन भन्दै ट्रम्पको प्रस्तावलाई पटक-पटक अस्वीकार गर्दै आएका छन्  । यो अस्पताल जहाज कुन कानुनी आधारमा पठाइएको हो र यसले डेनमार्कको सार्वभौमिकतालाई कसरी चुनौती दिन्छ भन्नेबारे कोपेनहेगनले आधिकारिक धारणा सार्वजनिक नगरे पनि नेटोका सहयोगी राष्ट्रहरूबीच भने यसले खैलाबैला मच्चाएको छ  ।

खासगरी सन् २०२६ को सुरुवातसँगै ट्रम्पले ग्रिनल्याण्ड नियन्त्रणका लागि ‘बल प्रयोग’ समेत हुन सक्ने संकेत दिएपछि यो अस्पताल जहाजको आगमनलाई केवल स्वास्थ्य सेवासँग मात्र जोडेर हेर्न सकिने अवस्था छैन । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको यो टापुमा अमेरिकी प्रभाव विस्तार गर्ने ट्रम्पको यो शैलीले विश्व राजनीतिको समीकरण नै बदल्न सक्ने देखिएको छ ।

मानवीय सहायताको आवरणमा सुरु भएको यो ‘जहाज कुटनीति’ ले भविष्यमा अमेरिका र युरोपेली युनियनबीचको सम्बन्धमा कस्तो दरार पैदा गर्छ भन्ने कुरा अब डेनमार्कको प्रतिक्रिया र जहाजको उपस्थितिले तय गर्ने निश्चित छ ।


सम्बन्धित समाचार
भर्खरै