१० फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान, कोणसभा तथा अन्तरक्रियामा सक्रिय देखिएका छन्। राजनीतिक दलहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्।
यसैक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले पर्सागढी नगरपालिका वडा नम्बर–६ र ७ अन्तर्गत चैनपुर, बागेश्वरी र फुलवरियामा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। यसपटकको निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा प्रस्तुत गर्दै उनले आफ्नो चुनाव चिन्ह “आँखा” छापमा मतदान गरी विजयी बनाउन मतदातासँग आग्रह गरेका छन्।
घरदैलो अभियानका क्रममा दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकासका लागि आफ्ना योजना सार्वजनिक गरेका थिए। उनले पर्सा जिल्लालाई कृषि, व्यापारिक गतिविधि र सामाजिक न्यायको दृष्टिले सबल बनाउने प्रतिबद्धता व्यक्त गरे। कृषिमा आधुनिकीकरण, सिँचाइ विस्तार, किसानलाई सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सुधार गर्ने योजना अघि सारेका छन्। साथै, स्थानीय स्तरमा साना तथा मझौला उद्योग प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको बताए।
जनभेटघाटका क्रममा स्थानीय समुदायले पनि उनलाई आँखा छापमा मतदान गरी जिताउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ। साथै, चुनावपछि पनि आज जस्तै निरन्तर जनतासँग भेटघाट र संवाद कायम राख्न सुझाव दिएका छन्।
उम्मेदवार दासले जनताको विश्वासलाई नै आफ्नो शक्ति भएको उल्लेख गर्दै पारदर्शी र उत्तरदायी नेतृत्वमार्फत पर्सा–२ को समृद्धि सम्भव रहेको बताए। निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि थप तीव्र बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउन सक्रिय देखिएका छन्।
फागुन २१ नजिकिँदै जाँदा पर्सा–२ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

















