१० फागुन,वीरगञ्ज । रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि भोलि बिहान साढे ७ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरिएको छ। दिनेश सागर भुसालले आह्वान गर्नुभएको सर्वदलीय बैठकले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्ने उद्देश्यले र्याली आयोजना गर्ने सहमति गरेको हो।
प्रजिअ भुसालका अनुसार नागरिक समाजको अगुवाइमा सबगढा क्षेत्रमा सद्भाव र्याली निकालिनेछ। र्यालीमार्फत शान्ति, सहिष्णुता र आपसी भाइचाराको सन्देश प्रवाह गरिने बताइएको छ। साथै, सबै राजनीतिक दल तथा सरोकारवाला पक्षले संयुक्त रूपमा शान्तिका लागि सार्वजनिक अपिल जारी गर्ने निर्णयसमेत भएको छ।
यद्यपि, सर्वपक्षीय बैठकले सद्भाव र्यालीको निर्णय गरे पनि गौर नगर क्षेत्रमा हिजोदेखि जारी कर्फ्यू भने यथावत राखिएको छ। सुरक्षा अवस्थाको विश्लेषणअनुसार स्थिति अझै संवेदनशील रहेकाले तत्काल कर्फ्यू हटाउन नसकिएको प्रजिअ भुसालले जानकारी दिनुभयो। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाइएको जनाएको छ।
सबगढा गाउँमा बिहीबार राति पौने १० बजेतिर विवाह समारोहमा बजाइएको डिजेलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। उक्त घटनापछि शुक्रबार ६ बुँदे सहमति भएको थियो। तर सहमति विपरीत हिजो पुनः अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले चार किल्ला निर्धारण गर्दै कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले सबै पक्षलाई संयमता अपनाउन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। शान्ति र सद्भाव कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

















