१० फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा दुई फरक धर्म समुदायबीच उत्पन्न तनाव नियन्त्रणका लागि प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ। स्थानीय विवादले उग्र रूप लिन सक्ने संकेत देखिएपछि प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार साँझ सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तारै सामुदायिक संवेदनशीलतासँग जोडिँदै तनावग्रस्त बनेको थियो। अवस्था थप जटिल हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।
प्रहरीले दुवै पक्षका अगुवा तथा स्थानीय बासिन्दासँग छलफल गर्दै परिस्थिति शान्त पार्ने प्रयास गरिरहेको जनाएको छ। हाल क्षेत्रको अवस्था नियन्त्रणमा रहेको र अप्रिय घटना हुन नदिन अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ।
घटनासम्बन्धी विस्तृत विवरण सङ्कलन भइरहेको तथा सामाजिक सञ्जालमा अफवाह नफैलाउन प्रशासनले सबैमा आग्रह गरेको छ। साथै, शान्ति–सुरक्षा कायम राख्न स्थानीय समुदायलाई संयमता अपनाउन अनुरोध गरिएको छ।

















