११ फागुन, काठमाडौँ । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसीगौडामा सोमबार मध्यराति एउटा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीको किनारमा खसेको हो ।
राति करिब साढे १ बजे भएको यस भीषण दुर्घटनामा अन्य २४ जना यात्रु घाइते भएका छन्। दुर्घटनापछि बस नदीको किनारमा पछारिएको अवस्थामा भेटिएको र यात्रुहरू छरपस्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनील गिरिको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनास्थल त्रिशूली नदीको खोँच र अप्ठ्यारो ठाउँमा भएकाले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, मृत्यु भएका १७ जनाको शव घटनास्थलबाट संकलन गरिएको छ। घाइते भएका २४ जनालाई सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ। कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।
अध्यारो समयमा दुर्घटना भएकाले मृतक तथा घाइतेहरूको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको ठोस कारण हालसम्म खुल्न सकेको छैन। “हामी अहिले उद्धार र पहिचानमा केन्द्रित छौँ, तीव्र गति वा प्राविधिक कारण के थियो भन्नेबारे अनुसन्धान सुरु भइसकेको छ,” जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
अहिले घटनास्थलमा सुरक्षाकर्मीहरूले थप उद्धार कार्य जारी राखेका छन् भने आफन्तहरूको खोजीका लागि अस्पतालहरूमा भीड लाग्न थालेको छ।

















