Logo

११ फागुन, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरलाई ठूलो धक्का लागेको छ । रास्वपाका मकवानपुर जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी आफ्नो ३० वर्ष राजनीतिक जीवन बिताएको पुरानै घर नेपाली कांग्रेसमा फर्किएका छन्।

रास्वपा मकवानपुरले सोमबार हेटौंडाको हुप्रचौरमा चुनावी सभा आयोजना गरिरहँदा सभापति पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सर्लाहीमा आयोजित एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरे । पराजुलीसँगै रास्वपा मकवानपुरका अन्य केही नेताहरूसमेत आइतबार राति नै सर्लाही पुगेका थिए ।

किन छाडे रास्वपा ?

पार्टी परित्याग गरेलगत्तै सामाजिक सञ्जालमार्फत पराजुलीले रास्वपाको नेतृत्व शैली र आन्तरिक लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएका छन् । “हामीले जुन उद्देश्य र आदर्शका साथ पार्टी बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था देखियो,” पराजुलीले भनेका छन्, “सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद र आलोचनालाई अस्वीकार गर्ने संस्कारले मलाई निराश बनायो।”

उनले रास्वपाभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र विधिभन्दा व्यक्तिको प्रभाव बढेको आरोपसहित राजीनामा दिएका हुन् ।

पराजुलीको बहिर्गमनको मुख्य कारण फागुन २१ को निर्वाचनका लागि टिकट वितरणमा भएको विभेदलाई मानिएको छ । २०७९ को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट १२ हजार ३९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका पराजुली यसपटक पुनः उम्मेदवार बन्न चाहन्थे ।

तर, पार्टी कार्यालय काठमाडौंमा टिकट लिन पुगेका बेला उनकै अगाडि सोही गाउँपालिकाका २५ वर्षीय प्रशान्त उप्रेतीलाई टिकट थमाइएपछि पराजुली रित्तै फर्किएका थिए। उम्मेदवारी दर्ताको अघिल्लो दिन सभापति रवि लामिछानेले फोन गरेर सम्झाउने प्रयास गरे पनि पराजुलीले “पुरानै घर” रोज्ने निर्णय लिए ।

२०८१ मंसिर ६ गते भएको पहिलो जिल्ला भेलाबाट पुनः निर्विरोध सभापति चुनिएका पराजुली मकवानपुरको पश्चिमी क्षेत्रमा शालिन नेताका रूपमा परिचित छन् । ३० वर्ष कांग्रेसमा बिताएर रास्वपा पुगेका उनी पुनः कांग्रेसमै फर्किएपछि मकवानपुर क्षेत्र नम्बर २ को चुनावी समीकरणमा फेरबदल आउने अनुमान गरिएको छ ।

रास्वपा जिल्ला सभापतिले नै पार्टी छाडेपछि हेटौंडामा आयोजित सभामा उपस्थित कार्यकर्ताहरूमाझ अन्योल देखिएको छ भने कांग्रेस वृत्तमा भने उत्साह छाएको छ ।


सम्बन्धित समाचार