११ फाल्गुण, काठमाडौं । नेपालका सडकहरू पछिल्लो समय मृत्यु मार्ग जस्तै बन्न थालेका छन् ।
पछिल्लो १८ दिनको छोटो अन्तरालमा देशका विभिन्न भागमा भएका तीनवटा भयावह सवारी दुर्घटनाले राज्यको फितलो सडक सुरक्षा प्रणाली र सरोकारवालाको उदासीनतालाई उदाङ्गो पारिदिएको छ। यी छुट्टाछुट्टै दुर्घटनामा परी ४४ जना नागरिकले अकालमै ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएर अस्पतालको शैयामा छटपटाइरहेका छन्। सडकको जीर्ण अवस्था, सवारी साधनको प्राविधिक कमजोरी र चालकको लापरबाहीलाई दुर्घटनाको मुख्य कारक मानिए तापनि सरकारले यस्ता घटनाको गम्भीर छानबिन गरी ठोस न्यूनीकरणको योजना ल्याउन सकेको छैन।
मृत्युको यो सिलसिला माघ २२ गते बैतडीको पुर्चौडीबाट सुरु भएको थियो, जहाँ जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको बीभत्स मृत्यु भयो । खुसीयाली साटासाट गर्न हिँडेको जन्ती टोली शोकमा डुबेको पाँच दिन नबित्दै माघ २७ गते रामेछापको त्रिवेणीघाटमा अर्को हृदयविदारक घटना घट्यो । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस दुर्घटनामा पर्दा १२ जनाले ज्यान गुमाए । यी दुई ठूला चोट सेलाउन नपाउँदै फागुन ११ गते आइतबार राति धादिङको बेनिघाट रोराङमा भएको बस दुर्घटनाले मुलुकलाई फेरि स्तब्ध बनाएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको पृथ्वी यातायातको बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको छ, जसले सडक सुरक्षाको भयावह तस्विर प्रस्तुत गर्दछ ।
लगातारका यी दुर्घटनापछि मात्रै प्रहरी प्रशासनले यसको कारणबारे गम्भीर विश्लेषण सुरु गरेको दाबी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सडकको अवस्था, सवारीको स्थिति र मानवीय त्रुटिलाई प्रमुख कारण मान्दै धादिङको घटना अनियन्त्रित भएर भएको प्रारम्भिक जानकारी दिनुभएको छ । तर, दुर्घटना भइसकेपछि मात्रै विश्लेषण गर्ने र छानबिनका नाममा औपचारिकता निभाउने प्रवृत्तिका कारण सर्वसाधारणले सधैँ जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ। सडक सुरक्षाका लागि प्रभावकारी कदम नचालिएसम्म यस्ता समाचारहरू केवल तथ्याङ्कमा सीमित हुने निश्चित छ ।

















