Logo

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यही साताभित्र सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

केन्द्रीय बैंकले आफ्नो स्थापित कार्यविधि र कानूनी व्यवस्थालाई पछ्याउँदै आगामी शुक्रबारसम्ममा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी दिशा तय गर्ने यस महत्त्वपूर्ण प्रतिवेदन बाहिर ल्याउन लागेको हो । ‘मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३’ अनुसार हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ, जसअनुसार राष्ट्र बैंकले आगामी फागुन १५  गतेको समयसीमाभित्रै यस अर्धवार्षिक समीक्षालाई मूर्तरूप दिन लागेको देखिन्छ ।

यतिबेला राष्ट्र बैंकको टोली समीक्षाको मस्यौदा तयार पार्न र तथ्याङ्कहरूको विश्लेषण गर्नमा व्यस्त रहेको छ । यद्यपि, यसपटकको समीक्षामा ठूला र क्रान्तिकारी नीतिगत परिवर्तनहरू हुने सम्भावना न्यून रहेको बैंकिङ क्षेत्रका विज्ञ तथा बैंकरहरूको विश्लेषण छ । बजारमा तरलता र ब्याजदरको सन्तुलन मिलाउन केन्द्रीय बैंकले यसअघिका मौद्रिक उपकरण र पहिलो त्रैमासिक समीक्षामार्फत नै कतिपय सहुलियत तथा व्यवस्थापनका कार्यहरू गरिसकेकाले, यसपटकको समीक्षामा विद्यमान नीतिहरूलाई नै निरन्तरता दिने र कार्यान्वयनमा जोड दिने रणनीति अख्तियार गर्न सक्ने अनुमान गरिएको छ ।

समग्र वित्तीय स्थायित्व र आर्थिक वृद्धिलाई सघाउ पुग्ने गरी आउने भनिएको यस समीक्षाले विशेष गरी निजी क्षेत्रको मनोबल र बैंकहरूको लगानी क्षमतामा कस्तो प्रभाव पार्छ भन्नेमा लगानीकर्ताहरूको चासो बढेको छ । राष्ट्र बैंकले अर्थतन्त्रका पछिल्ला सूचकहरू-विशेष गरी रेमिट्यान्स प्रवाह, वैदेशिक मुद्रा सञ्चिति र न्यून कर्जा प्रवाहको अवस्थालाई मध्यनजर गर्दै केही प्राविधिक हेरफेर गर्न सक्ने भए तापनि ठूलो राहत वा नीतिगत ‘यु–टर्नु को अपेक्षा भने कमै गरिएको छ ।


सम्बन्धित समाचार