Logo

११ फाल्गुण, काठमाडौं । धादिङको बेनीघाट रोराङस्थित भैंसीगौडामा सोमबार बिहान भएको भयावह बस दुर्घटनाले १९ जनाको ज्यान लिएको छ, जसमध्ये अहिलेसम्म ९ जनाको मात्रै पहिचान खुल्न सकेको छ ।

पृथ्वी लोकमार्गमा अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेको पोखरा–काठमाडौँ रूटको ग २ ख १४२१ नम्बरको बसमा सवार ४४ जनामध्ये झण्डै आधा यात्रुले ज्यान गुमाएका हुन् । सनाखत हुनेहरूमा एक बेलायती नागरिकदेखि विभिन्न जिल्लाका नेपाली नागरिकहरू रहेका छन् । बाँकी १० मृतकको पहिचान अझै खुल्न नसकेको र उनीहरूको शव पहिचानका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

सनाखत भएका मृतकहरूमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथानसहित कास्कीका विवेक बास्तोला, स्याङ्जाका चन्द्रबहादुर कुँवर, तनहुँका ओम कुमार मल्ल, विष्णुमाया ढकाल र हरिप्रसाद सिन्देल रहेका छन् । त्यस्तै धादिङका इन्जिनियर ठकुरी, काठमाडौँ बौद्धका लोपसाङ गोले र पाल्पाका नविन श्रेष्ठको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । पहिचान हुन बाँकी रहेका १० जनामध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्, जसमा एक जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका २५ जना यात्रुहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये १४ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र एक जनाको मलेखुमा उपचार भइरहेको छ । चालकसहित ४४ जना यात्रु बोकेर आएको बस सडकबाट सिधै नदी किनारमा खस्दा ठूलो मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाए पनि प्रारम्भिक रूपमा तीव्र गति वा अनियन्त्रित हुनु नै मुख्य कारण देखिएको छ ।


सम्बन्धित समाचार