Logo

११ फाल्गुण, काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन ‘हिमालयन फुड कम्पनी’ (राँगाको मासु प्रशोधन उद्योग) सोमबार बिहान रणमैदानमा परिणत भएको छ ।

उद्योगमा कार्यरत नेपाली मजदुर र चिनियाँ प्राविधिक कर्मचारीबीच कार्यस्थलमै भीषण झडप हुँदा सात जना कामदार गम्भीर घाइते भएका छन् । मरिण–४ साहानस्थित उद्योग परिसरमा भएको यो हिंसात्मक घटनामा दुई नेपाली र पाँच चिनियाँ नागरिक घाइते भएका हुन्, जसमध्ये एक नेपाली मजदुरको अवस्था चिन्ताजनक रहेको छ ।

विवादको बिउ एक नेपाली कामदारलाई रोजगारीबाट निकालिएको विषयबाट रोपिएको खुलेको छ । स्थानीय मरिण–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई व्यवस्थापनले कामबाट हटाएपछि सुरु भएको भनाभनले उग्र रूप लिँदा मजदुरहरू एकाएक झडपमा उत्रिएका थिए । सिन्धुलीका प्रहरी उपरीक्षक ९एसपी० लालध्वज सुवेदीका अनुसार झडपमा परी नवराज बम्जन आफैँ गम्भीर घाइते भएका छन् । उनको दाहिने आँखा र खुट्टामा गहिरो चोट लागेको छ भने अवस्था जटिल देखिएपछि प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ । अर्का नेपाली कामदार उदयपुरका २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको छ ।

झडपमा  घाइते हुने चिनियाँहरूमा ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी रहेका छन् । उनीहरूको टाउको, छाती, मुख र हातमा चोट लागेको छ। घाइते चिनियाँहरूको हाल प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ । घटनालगत्तै कम्पनी परिसर तनावग्रस्त बने पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि अहिले स्थिति नियन्त्रणमा आएको छ ।

प्रहरीले कार्यस्थलमा सुरक्षा व्यवस्था कडा पार्दै मजदुर र व्यवस्थापनबीचको यो विवाद र झडपको मुख्य दोषी पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै