Logo

११ फाल्गुण, काठमाडौं । देशका विभिन्न भागमा सडक दुर्घटनाको शृङ्खला थामिन नसकिरहेका बेला सोमबार दिउँसो उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा अर्को सवारी दुर्घटना भएको छ ।

कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको ‘ओखलढुङ्गे बस अधेरी जोगी टोलमा अनियन्त्रित भई सडकबाट करिब ३०/४० फिट तल खसेको हो । बसको ब्रेक फेल भएका कारण चालकले नियन्त्रण गुमाउँदा यो दुर्घटना हुन पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा परी बसमा सवार झन्डै एक दर्जन यात्रुहरू घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य तत्कालै सुरु गरिएको र उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालतर्फ पठाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन् भने घाइतेहरूको पूर्ण विवरण र चोटपटकको अवस्थाबारे जानकारी आउन अझै बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी टोली परिचालन भइसकेको जानकारी दिएको छ । ओरालो र घुम्ती रहेको सडकमा प्राविधिक गडबडीका कारण बस दुर्घटनामा परेको भए तापनि विस्तृत अनुसन्धान पछि मात्रै वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ । सोमबार मुलुकका अन्य भागमा पनि ठूला दुर्घटना भइरहेका बेला उदयपुरको यो घटनाले यात्रुहरूमा थप त्रास फैलाएको छ ।


सम्बन्धित समाचार
भर्खरै