Logo

११ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा चुनावी सभामा सक्रिय बनेका छन्। प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको आन्तरिक गणनामा दलहरू व्यस्त देखिन्छन्।

यसैक्रममा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनी यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। घरदैलो कार्यक्रम, टोलभेला तथा स्थानीय अगुवासँगको छलफलमार्फत उनले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्।

मतदातासँगको भेटमा यादवले बारा–२ को समस्या र आवश्यकताबारे आफू जानकार रहेको दाबी गर्दै जनतासँग गरिएका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामी जनतासँग गरेको वाचा पूरा गर्छौं। मैले यस क्षेत्रका समस्या, दुःख र आवश्यकता नजिकबाट बुझेको छु,” उनले भने, “विश्वास गर्नुहोस्, सबै समस्याको समाधानका लागि इमानदार प्रयास गर्नेछु।”

उनले आफू अन्य उम्मेदवारहरूजस्तो अव्यावहारिक र झुटा आश्वासन नदिने दाबी गर्दै विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका सवाललाई प्राथमिकतामा राख्ने बताएका छन्। “हामी झुटो बोल्दैनौं, काम गरेर देखाउँछौं,” यादवको भनाइ छ। उनका अनुसार बारा–२ मा सडक स्तरोन्नति, सिंचाइ व्यवस्था विस्तार, कृषि आधुनिकीकरण तथा युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने योजना अघि सारिएको छ।

यादवले क्षेत्रका किसान, मजदुर, महिला र युवासँग छुट्टाछुट्टै छलफल गर्दै उनीहरूका गुनासा र सुझाव संकलन गरिरहेको बताइएको छ। स्थानीय बासिन्दाले आधारभूत सेवा–सुविधा विस्तार, बाढी नियन्त्रण, शिक्षा संस्थाको गुणस्तर सुधार तथा स्वास्थ्य चौकी सुदृढीकरणलाई प्रमुख मुद्दाका रूपमा उठाएका छन्।

निर्वाचन नजिकिँदै जाँदा बारा–२ मा राजनीतिक गतिविधि थप चर्किंदै गएको छ। विभिन्न दलका उम्मेदवारहरू घर–घर पुगेर मत मागिरहेका छन् भने मतदाताहरू पनि उम्मेदवारका प्रतिबद्धता, अघिल्ला कामको मूल्यांकन र भावी योजनालाई नजिकबाट नियालिरहेका छन्। चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा बारा–२ को परिणामलाई चासोका साथ हेरिएको छ।


सम्बन्धित समाचार