Logo

११ फाल्गुण, काठमाडौँ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रहरी प्रधान कार्यालयले नयाँ सुरक्षा रणनीति अख्तियार गरेको छ ।

निर्वाचन बिथोल्न सक्रिय हुन सक्ने विभिन्न समूहहरूको गतिविधिलाई सूक्ष्म रूपमा निगरानी र विश्लेषण गर्न ‘विश्लेषण महाशाखा’ गठन गरिएको छ । कार्य विभागको मातहत रहने गरी स्थापना गरिएको यस महाशाखाको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीलाई सुम्पिएको छ । महाशाखाले निर्वाचन विरोधी तत्वहरूको सूचना सङ्कलन गर्ने र त्यसलाई निस्तेज पार्ने गरी सुरक्षा रणनीति तयार गर्ने मुख्य जिम्मेवारी पाएको छ ।

प्रहरीको आन्तरिक विश्लेषण अनुसार हाल ६ वटा समूहहरू निर्वाचन बिथोल्ने योजनाका साथ सक्रिय देखिएका छन् । जसमा दुर्गा प्रसाईं नेतृत्वको महाअभियान, धर्मेन्द्र बास्तोलाको नेकपा (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र पहिचानवादी समूहहरू रहेका छन् । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा अहिलेसम्म धर्मेन्द्र बास्तोला र नरेन्द्र बहादुर विकसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकाहरूमाथि गम्भीर अनुसन्धान भइरहेको छ भने अन्य फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले रोहिङ्ग्या शरणार्थीहरूको गतिविधिमाथि पनि विशेष निगरानी बढाएको छ। नेपालमा रहेका ४१९ जना रोहिङ्ग्याहरूलाई निर्वाचन विरोधी समूहले प्रयोग गर्न सक्ने आशंकामा कपन, कालिमाटी र बालाजु क्षेत्रमा रहेका उनीहरूका क्याम्पमा सुरक्षाकर्मीहरूले निगरानी राखेका छन् । समग्र निर्वाचन सुरक्षाको कमाण्ड सम्हाल्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय निर्वाचन सेल समेत परिचालन गरिएको छ ।

एकीकृत सुरक्षा योजनाअनुसार यसपटक चारवटै सुरक्षा निकायका ३ लाख १५ हजारभन्दा बढी जनशक्ति मैदानमा उत्रिने भएका छन्, जसले मतदान प्रक्रियालाई पूर्ण सुरक्षित बनाउने विश्वास प्रहरीले लिएको छ ।


सम्बन्धित समाचार