Logo

११ फाल्गुण, काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा चर्चा कमाएकी तुलसा अधिकारी अहिले गम्भीर कानुनी घेरामा तानिएकी छिन् ।

उनीमाथि ठगी र आपराधिक विश्वासघात मात्र नभई सम्पत्ति शुद्धीकरणको समेत कसुरमा प्रहरीले एकसाथ उच्चस्तरीय अनुसन्धान अघि बढाएको छ । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले गत साउनमै दिएको जाहेरीका आधारमा सुरु भएको अनुसन्धानले अहिले नयाँ मोड लिएको हो ।

प्रहरी वृत्त सातदोबाटोमा परेको उजुरीमा अधिकारीले ४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लगाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको बैंक खाता जाँच गर्दा अस्वाभाविक र ठूलो परिमाणको आर्थिक कारोबार फेला परेपछि प्रहरीले यसलाई सम्पत्ति शुद्धीकरणको पाटोबाट पनि हेर्न थालेको हो । एक प्रहरी अधिकृतका अनुसार, उनको आम्दानीको स्रोत र बैंकमा देखिएको मौज्दातबीच मेल नखाएपछि अवैध धनलाई वैध बनाउन खोजेको आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाइएको छ ।

हाल चीनमा लुकिछिपी बसिरहेको भनिएकी अधिकारीले त्यहीँबाट टिकटक मार्फत पीडितहरूलाई उल्टै ब्ल्याकमेलिङ गरिरहेको तथ्य समेत बाहिर आएको छ । प्रविधिको दुरुपयोग गर्दै उनले विदेशबाटै धम्काउने र चरित्र हत्या गर्ने प्रयास गरेको प्रहरीको दाबी छ । ठूलो धनराशिको ठगी र अवैध आर्थिक चलखेलमा मुछिएकी उनीविरुद्धको मुद्दा अब केवल व्यक्तिगत विवादमा मात्र सीमित नभई संगठित आर्थिक अपराधको दिशामा मोडिएको छ, जसका लागि प्रहरीले उनलाई कानुनी कठघरामा ल्याउन अन्तर्राष्ट्रिय समन्वयको समेत तयारी गरिरहेको छ ।


सम्बन्धित समाचार