Logo

११ फाल्गुण, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोल मेसिन सावित्रा भण्डारी ‘साम्बा’ अहिले आफ्नो खेल जीवनकै सबैभन्दा कठिन मोडमा उभिएकी छिन् ।

झण्डै डेढ महिनाअघि अस्ट्रेलियन ए लिगका क्रममा घुँडामा गम्भीर चोट बोकेकी साम्बाले आफ्नो जटिल शल्यक्रिया र उपचारका लागि ८० हजार अमेरिकी डलर (करिब १ करोड १० लाख रुपैयाँ) आवश्यक रहेको भन्दै आम समर्थकमाझ आर्थिक सहयोगको अपिल गरेकी छिन् । रगत र पसिना बगाएर देशको शान बढाएकी खेलाडीले आज उपचारका लागि सामाजिक सञ्जालबाट याचना गर्नुपर्ने अवस्था आउनुले खेल क्षेत्रको विद्रुप स्वरूपलाई छताछुल्ल पारेको छ ।

घुँडाको एसीएल र एमसिएल दुवैमा गम्भीर चोट लागेका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने भएपछि साम्बाले कतारको विश्वप्रसिद्ध ‘अस्पेटार’ अस्पतालमा उपचार गराउने इच्छा राखेकी छिन् । तर, अचम्मको कुरा के छ भने, सधैँ अभिभावकको भूमिकामा हुनुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो संकटको घडीमा साम्बाको हात छोडिदिएको छ । साम्बाका अनुसार एन्फा अध्यक्षले सुरुमा सहयोगको आश्वासन दिए पनि अन्ततः प्रशासनिक प्रक्रिया अघि बढाउन नसकिने भन्दै हात झिकेका छन् । अझ विडम्बना त के छ भने, एन्फाभित्रै उनी क्लबका लागि खेल्दा चोटिल भएकी हुन् भन्ने संकुचित तर्क गरेर राष्ट्रिय गौरवको अपमान गर्ने प्रयास भइरहेको छ, जसले कप्तान साम्बालाई मानसिक रूपमा थप विक्षिप्त बनाएको छ ।

एन्फाले केवल ५ लाख रुपैयाँ दिने तर अन्य सबै प्रक्रिया आफैँ मिलाउन भनेपछि साम्बाको उपचार प्रक्रिया अन्योलमा परेको छ । सरकारी निकायहरूमा पनि सहयोगका लागि पहल भए पनि प्रशासनिक झमेलाका कारण कुनै ठोस नतिजा निस्कन सकेको छैन । ‘थाकेको छु तर हारेको छैन’ भन्दै अझै पनि नेपालको जर्सी लगाएर मैदान फर्कने दृढ संकल्प बोकेकी साम्बाले आफू जस्तो स्थापित खेलाडीले त आज यो हविगत भोग्नुपरेको छ भने अन्य सामान्य खेलाडीको अवस्था के होला भन्दै प्रश्नसमेत गरेकी छिन् ।

आफ्नो सम्पूर्ण कमाइले पनि उपचार खर्च धान्न नसक्ने भएपछि उनले देश तथा विदेशमा रहेका नेपालीहरूलाई सहयोगको हात फैलाउन आग्रह गरेकी छिन् ।


सम्बन्धित समाचार