Logo

११ फाल्गुण, काठमाडौँ । धादिङको बेनीघाट रोराङमा सोमबार बिहान भएको मुटु काँप्ने बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले उच्चस्तरीय छानबिन कार्यदल गठन गरेको छ ।

१९ जनाको बीभत्स मृत्यु र २५ जना घाइते भएको सो हृदयविदारक घटनाले सडक सुरक्षामा गम्भीर चुनौती खडा गरेपछि सरकारले सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल बनाएर अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्यदल गठन भएको पुष्टि गर्दै संयोजक र अन्य सदस्यहरूको नाम भने केही समयपछि सार्वजनिक गरिने जानकारी दिनुभएको छ ।

यो निर्णय लिनुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा सरोकारवाला निकायका प्रमुखहरूसँग आपत्कालीन छलफल गर्नुभएको थियो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, गृह सचिवका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले पछिल्लो समय राजमार्गमा भइरहेका यस्ता दुर्घटना न्यूनीकरणका लागि तत्काल चाल्नुपर्ने कदम र यस पटकको घटनामा देखिएको प्राविधिक वा मानवीय कमजोरीबारे गम्भीर समीक्षा गरेका थिए ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस भैंसीगौडामा अनियन्त्रित भई त्रिशूली नदी किनारमा खस्दा ठूलो मानवीय क्षति भएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार दुर्घटनामा १९ जनाले ज्यान गुमाइसकेका छन् भने घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सरकारले गठन गरेको यो कार्यदलले दुर्घटनाको स्थलगत अध्ययन गरी भविष्यमा यस्ता विपत्ति रोक्नका लागि ठोस सुझावसहितको प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी पाएको छ ।


सम्बन्धित समाचार