Logo

१२ फागुन, काठमाडौँ । भारतको राँचीबाट दिल्लीका लागि उडेको एक निजी एयर एम्बुलेन्स सोमबार साँझ झारखण्डको चतरा जिल्लामा दुर्घटना हुँदा त्यसमा सवार दुई चालक दलका सदस्यसहित सबै सात जनाको मृत्यु भएको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनाको पुष्टि गरेको समाचार एबीपीले प्रकाशित गरेकाे छ ।

प्रारम्भिक जानकारी अनुसार, विमान राँचीको बिरसा मुन्डा एयरपोर्टबाट साँझ ७ः११ बजे दिल्लीका लागि मेडिकल उडान भरेको थियो । उडान भरेको केही समयमै विमानसँगको राडार र रेडियो सम्पर्क टुटेको थियो भने कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग विमानको अन्तिम सम्पर्क साँझ ७ः३४ मा भएको जनाइएकाे छ ।

सम्पर्क विच्छेद भएको करिब ३० मिनेटपछि उद्धार समन्वय केन्द्रलाई सक्रिय गरिएको थियो । खोजी तथा उद्धार टोली दुर्घटनास्थलमा पुग्दा विमानमा सवार कोही पनि जीवित फेला नपरेका एबीपीले जनाएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरोको टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा चालक दलका सदस्य क्याप्टेन विवेक विकास बिलागत र क्याप्टेन सवरदीप सिंहका साथै बिरामी सञ्जय कुमार, कुरुवा अर्चना देवी र धुरु कुमार, डाक्टर विकास कुमार गुप्ता र प्यारामेडिक सचिन कुमार मिश्र रहेका छन् ।


सम्बन्धित समाचार