Logo

१२ फागुन, काठमाडौँ । अमेरिकाको पूर्वी क्षेत्रमा आएको शक्तिशाली हिमआँधीका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । भीषण हिमपात र तीव्र गतिको हावाका कारण यातायात, विद्युत् आपूर्ति र हवाई सेवामा गम्भीर अवरोध उत्पन्न भएको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भूभागमा ३३ इन्चसम्म बाक्लो हिउँ जमेको छ। न्यूयोर्कको चर्चित सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिमपात रेकर्ड गरिएको छ । भारी हिमपातका कारण सडकहरू अवरुद्ध भएपछि स्थानीय प्रशासनले यात्रा निकै जोखिमपूर्ण रहेको भन्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन चेतावनी जारी गरेको छ ।

हवाई सेवा ठप्प, लाखौँ प्रभावित हिमआँधीका कारण अमेरिकाका विभिन्न विमानस्थलबाट हुने ५ हजारभन्दा बढी उडानहरू रद्द गरिएका छन्। यसबाट हजारौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् भने लाखौँ मानिसको दैनिक तालिका प्रभावित भएको छ। हिमपातसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको बीबीसीले जनाएको छ ।

६ लाखभन्दा बढी घरमा अन्धकार आँधीले विद्युत्का पोल र तारहरूमा क्षति पुर्‍याउँदा पूर्वी तटका विभिन्न राज्यका ६ लाखभन्दा बढी घरधुरी र व्यावसायिक प्रतिष्ठानहरू अन्धकारमा परेका छन्। विशेषगरी न्यूजर्सी र म्यासाचुसेट्स राज्यमा विद्युत् आपूर्ति सबैभन्दा बढी प्रभावित भएको छ। तापक्रम निकै तल झरेको अवस्थामा विद्युत् नहुँदा ‘हिटिङ’ प्रणाली बन्द भई मानिसहरू चिसोको चपेटामा परेका छन् ।

मौसमविद्हरूले यो आँधी अझै केही समय जारी रहने अनुमान गरेका छन् । प्रभावित राज्यका गभर्नरहरूले आपत्कालीन अवस्थाको घोषणा गर्दै उद्धार र हिउँ पन्छाउने कार्यलाई तीव्रता दिएका छन् ।


सम्बन्धित समाचार