१२ फाल्गुण, काठमाडौं । अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारभित्र सुन्दै आङ सिरिङ्ग हुने वीभत्स हत्याकाण्ड भएको छ ।
छोरी–ज्वाइँको निमन्त्रणामा अमेरिका पुगेका उदयपुर बेलका नगरपालिकाका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको धारिलो हतियार प्रहार गरी निर्मम हत्या गरेका छन् । भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको एक अपार्टमेन्टमा सोमबार बिहान थापाले आफ्ना ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतमाथि समेत सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।
घटनाको जानकारी पाएलगत्तै पुगेको अमेरिकी प्रहरीले १० इन्च लामो धारिलो हतियार बोकेर आक्रमणमा उत्रिएका छत्रबहादुरलाई हतियार फाल्न पटक–पटक आदेश दिएको थियो । प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै उल्टै जाइलागेपछि आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर छत्रबहादुरको पनि घटनास्थलमै मृत्यु भएको छ । आक्रमणबाट गम्भीर घाइते भएका ज्वाइँ सन्तोषको अस्पतालमा उपचार भइरहेको छ भने घरमा रहेका एक वर्षीय शिशु भने सुरक्षित रहेका छन् ।
अहिलेसम्म हत्याको स्पष्ट कारण खुल्न सकेको छैन भने अमेरिकी सुरक्षा निकायले घटनाबारे गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

















