Logo

१२ फाल्गुण, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने महत्त्वाकांक्षी तयारी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले गणना कार्यलाई द्रुत गतिमा अघि बढाउन सहज हुनेछ । समानुपातिकतर्फको नतिजा आउन केही दिन लाग्न सके पनि प्रत्यक्षतर्फको परिणाम भने संकलन भएको एक दिनभित्रै घोषणा गर्ने गरी आयोगले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेको छ । निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ र ढुवानीका जटिल कार्यहरू सम्पन्न भइसकेका छन् भने उपत्यका बाहिरका जिल्लाहरूमा सामग्री पठाउने काम समेत अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

निर्वाचनको प्राविधिक र व्यवस्थापकीय तयारीबारे जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान अधिकृतहरूको तालिम सम्पन्न भएसँगै कर्मचारीहरू आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटिन सुरु गरिसकेको बताएका छन् । हिमाली क्षेत्रको भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै मतदाताहरूलाई मताधिकारबाट वञ्चित हुन नदिन आयोगले विशेष अध्ययन गरिरहेको र आवश्यकता अनुसार तत्काल निर्णय लिने तयारी गरेको छ । यदि मौसमका कारण समस्या परेमा मतदाताहरू जहाँ छन्, त्यहीँ पुगेर मत सङ्कलन गर्ने गरी लचिलो व्यवस्थापन मिलाइने समेत उनले स्पष्ट पारेका छन् ।

यसैबीच, आयोगले निर्वाचनको स्वच्छता कायम राख्न राजनीतिक दल र उम्मेदवारहरूलाई निषेधको राजनीति नगर्न कडा चेतावनी दिएको छ । स्वच्छ प्रतिस्पर्धाबाट मात्रै निष्ठावान नेतृत्व चयन हुने उल्लेख गर्दै भण्डारीले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक र असत्य सूचनाहरूको पछि नलाग्न मतदाताहरूलाई आग्रह गरेका छन् । आगामी फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ ।


सम्बन्धित समाचार