Logo

१२ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलहरूलाई अनिवार्य बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ ।

सोही व्यवस्थाअनुसार हालसम्म प्रत्यक्षतर्फका ३ हजार ४०६ उम्मेदवारमध्ये १ हजार २१३ जनाले मात्र बैंक खाता खोलेका छन् । निर्वाचन आयोगका अनुसार चुनावी मैदानमा उत्रिएका ६८ दलमध्ये अहिलेसम्म ९ वटा दलले मात्र औपचारिक रूपमा खाता सञ्चालनमा ल्याएका छन् । खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपां), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।

निर्वाचन खर्चको सीमा पालना गराउन र आर्थिक सहायताको प्रभावकारी निगरानी गर्न आयोगले ुप्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता–सञ्चालन तथा व्यवस्थापन–कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचन प्रयोजनका लागि संकलन गरिने आर्थिक सहयोग र गरिने सम्पूर्ण खर्चहरू अनिवार्य रूपमा सोही खातामार्फत नै कारोबार गर्नुपर्ने कानुनी व्यवस्था छ । यस प्रक्रियाले निर्वाचनका क्रममा हुने अपारदर्शी खर्चलाई नियन्त्रण गर्न र मतदातामाझ उम्मेदवारहरूको आर्थिक पारदर्शिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ ।


सम्बन्धित समाचार
भर्खरै