१२ फाल्गुण, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सरकार तथा राजनीतिक दलहरूलाई विशेष निर्देशन दिएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै विभिन्न जिल्लाहरूमा दलका कार्यकर्ताबीच देखिएको मुठभेड र निषेधाज्ञा जारी गर्नुपर्ने गरी बिग्रिएको सुरक्षा अवस्थाप्रति आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ । विशेषगरी दाङ, रौतहट र पर्सा जस्ता जिल्लाहरूमा देखिएका विवाद र उम्मेदवारहरूले एक–अर्काप्रति दिने घृणायुक्त एवं अमर्यादित अभिव्यक्तिले सामाजिक सद्भाव बिथोल्न सक्ने भन्दै आयोगले सबै पक्षलाई धैर्यता अपनाउन आग्रह गरेको छ ।
आयोगले निर्वाचनका गतिविधि र प्रचारप्रसारमा बालबालिकाको प्रयोग भइरहेकोप्रति कडा आपत्ति जनाउँदै यसलाई तत्काल रोक्न निर्देशन दिएको छ । सामाजिक सञ्जाल र सभा–जुलुसमा बालबालिकालाई प्रयोग गर्नु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको ठहर गर्दै आयोगले अभिभावक, विद्यालय र राजनीतिक दलहरूलाई जिम्मेवार बन्न सचेत गराएको छ ।
निर्वाचनलाई भयरहित र मानव अधिकारमैत्री वातावरणमा सम्पन्न गर्नका लागि नागरिक समाज र सरोकारवाला निकायहरूको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिँदै आयोगले देशभर आफ्नो अनुगमनलाई थप तीव्र बनाएको जानकारी दिएको छ ।

















