१२ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न मतदान हुनुभन्दा ७२ घण्टाअघि नै नेपालका सबै अन्तर्राष्ट्रिय सीमानाकाहरू सिल गर्ने निर्णय गरिएको छ ।
निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल(भारत र नेपाल–चीनतर्फका सीमानाकाहरूबाट हुने आवागमन मतदानको तीन दिनअघिदेखि नै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको उक्त बैठकमा गृह मन्त्रालयका पदाधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
बैठकले निर्वाचनलाई मर्यादित बनाउन मतदानअघि मादक पदार्थको बिक्री–वितरणमा समेत पूर्ण प्रतिबन्ध लगाउने विषयमा छलफल गरेको छ, जसको समयसीमा आयोगले छिट्टै विज्ञप्तिमार्फत सार्वजनिक गर्नेछ । यसैगरी, फागुन १९ गते तराईमा मनाइने होली पर्व र जनकपुरमा हुने ऐतिहासिक माध्यमिकी परिक्रमा मेलाको सुरक्षा व्यवस्थापनबारे पनि गम्भीर विमर्श भएको छ । मौन अवधिको समयमा होली परेकाले यसलाई कसरी संयमित बनाउने र भारतीय नम्बर प्लेटका सवारी साधनलाई कति समयअघिदेखि रोक लगाउने भन्नेबारे ठोस योजना बनाउन आयोगलाई जिम्मेवारी दिइएको छ ।
विशेषगरी हिमाली जिल्लाहरूमा भइरहेको हिमपातका कारण मतपेटिका र निर्वाचन सामग्री ढुवानीमा देखिएको चुनौतीप्रति पनि सुरक्षा समितिले ध्यान केन्द्रित गरेको छ । प्रतिकूल मौसमका कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई लेक लाग्ने जोखिम रहेको भन्दै त्यसको वैकल्पिक व्यवस्थापन र सामग्री सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्याउने विषयमा सुरक्षा प्रमुखहरूले आआफ्नो धारणा राखेका छन् । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत काम भइरहेको आयोगले जनाएको छ ।

















